Nepal

लकडाउन : पहाडी जीवनमा रमाउने अवसर

लकडाउन हुने सम्भावना देख्नेबित्तिकै म आफ्ना पोका पुन्तुरा बाँधेर लमजुङको सुन्दर आफ्नो जन्मभूमि भोर्लेटारको लागि गाडी चढेँ । धेरै समय भएको थियो काठमाडौंको धुवाँ धुलो र उकुसमुकुसबाट जीवन उम्किन नसकेको । सधैंको व्यस्तता र भागढौडले जन्मभूमि सम्झिने फुर्सद पनि थिएन । अहिले विश्व कोरोनाले आक्रान्त भइरहँदा म भने प्रकृतिको काखमा रमाइरहेको छु । लगभग दुई महिना भयो मोबाइल, ल्याप्टप र टिभीको दुनियाँबाट अलि पर पहाडी जीवनको भोग गरिरहेको छु।

आहा ! यो प्रकृति, मसँगै तालमा ताल मिलाएर सँगै नाचेजस्तो । लकडाउनले मानिस घरमै थुनिँदा प्रकृति भने मुसुमुसु हाँसे जस्तो भइरहेको छ । यही पहाडको काँधमा हुर्किएको म, जिन्दगीको मिठो गीत सम्झिएर अचेल यस्तै मोहनीमा गुन्गुनाइरहेको छु । सम्झनालाई संगीतमय बनाइरहेको छु अनि मनमनै सोचिरहेको छु- यो लकडाउन त स्वयं म र प्रकृतिका लागि वरदान स्वरुप भएको छ आजकल ।

पहिलेपहिले भोर्लेटार बजारमा केही थान बस्ती र खेतीपाती योग्य जमिनहरू थिए । अहिले अलि व्यापारिक केन्द्र बन्दै छ । तै पनि पिस्ती र मिदिम खोलाको बीचमा रहेर भोर्लेटारले सधैं आडैमा रहेको जंगलको चिसो हावा भने खाइरहेको हुन्छ । खै ! यो बाल्यकालको हुटहुटी हो कि मेरो अन्तरमनको चाहना । अहिले मलाई मनुष्य नभएर चरीझैं रनवन डुल्ने र लेकबेसी गर्ने इच्छा जागेको छ।

घरबारीमा फलेका अनेकौं तरकारीको स्वाद लिदै वनमा काफल र ऐसेलु टिप्न हप्तै बिच्छे जाने पनि गरेको छु । अचम्म त पहिले सानो हुँदाको स्मरणले गराउने गरेको छ । वनका पाखाहरूमा पानी अमला, निउँरो खोज्दै धेरै हिँडिन्थ्यो । अनि जुकाले पनि निकै सताउँथ्यो । अहिले तिनै दिनहरूको पुनरावृत्ति भएको छ । वैशाख र जेठमा समेत परेको झरीले बर्खायामको याद दिलाएको छ । निउँरोले उम्रिन बिर्सिएको छैन । कोइलीले मिठासपूर्ण स्वरमा रनवन घन्काउँदैछ ।

घाम चर्किँदा, घरमा बस्न दिक्दार लाग्दा, खोला झर्ने बाटैमा एउटा ठूलो वरपिपलको चौतारो छ । त्यहीँ गएर शीतल ताप्छु । ढुंगाले बारेर बाटुलो पिँढी उठाएको यो मनमोहक चौतारीको छहारीमा पहिलेपहिले वनबाट भारी बोकी आउने भरियाहरू र गाई हेर्न खोला झर्ने गोठालाहरू विश्राम गर्थे।

खाजा खान स्कुलले दिएको बिदामा लुकामारी खेल्ने त्यो ठाउँ, गाउँखाने कथा सुनाउँदाका साक्षी र कहिलेकाहीँ नाच गान गर्दाको त्यो अविस्मरणीय क्षणको साक्षी थियो चौतारी । जुन अचेल सुनसान बनेर बसिरहेको छ ।

मान्छेहरूले घरघरमै पङ्खा र एसी जडान गरिसके । हिजोआज पहिलेझैं भारी बोक्नु पर्दैन, वनमै सडक पुगिसक्यो। पिस्ती खोला झर्ने बाटैमा एउटा सानो कुवा पनि थियो । लकडाउनको समयमा कुवाको पानी चाखौं भनेर म त्यता पनि लागें । कुवा पहिले जस्तो व्यवस्थित थिएन । तर, पानी रसाउन छोडेको थिएन । एक हात जति गहिरो कुवाको पानी निर्मल छ अझै पनि ।

पहिले पहिले यहाँ बिहान तातोपानी रसाउ’थ्यो । गर्मीयाममा खोलामा पौडी खेल्दै नुहाउने हामी जाडोयाम भएपछि कुवामा नुहाउन तछाडमछाड गर्थ्यौं । एकैछिन पिस्ती खोलाको झोलुङ्गे पुलमा पनि एक्लै मच्चिए । पहिलेपहिले एकले अर्कालाई डर पैदा गर्न हामी बीच मच्चाउने होडबाजी हुन्थ्यो।

यही लकडाउनकै मौका छोपी पारि ईशानेश्वर महादेव मन्दिरको पनि दर्शन गर्न गएँ । विश्वास, श्रद्धा, भक्ति र सनातन रीतिथितिमा चलेको छ यो समाज । शिवरात्रिको दिन यहाँ ठूलो मेला लाग्छ । हामी सानो हुँदा साथीभाइ जम्मा भएर दर्शनसँगै मेला हेर्न जान्थ्यौं।

विभिन्न खेलहरूमा रमाउथ्यौं अनि रातिको झिलिमिली र ठाडो बत्ती बाल्नेहरूको लर्को हेर्थ्यौं । पहिलेभन्दा अहिले अलिकति मन्दिर व्यवस्थित भएको पाएँ । मादी मिदिमको संगम बुढा महादेवको थान पनि पुगेँ ।

जीवनलाई थप अभिप्रायशील बनाउन, मानिसले विगतको सम्झना गर्नुपर्छ । फिल्मका पर्दामा देखिने फ्ल्यासब्याकजस्तै बेला सानो छँदा मैले कखरा सिकेका कालोपाटीहरू, रमाउन निस्किएका बेलघारीहरू अनि चुंगी र गुच्चा खेलेका आँगनहरू अहिले प्रत्यक्ष आफ्नै आँखाहरूले दर्शन गर्ने मौका पाएको छु । ठूलो बन्ने सपना देख्ने ती कक्षा कोठाहरू, झुण्डिएर पिङ खेल्ने रुखका हाँगाहरू, गृहकार्य नगर्दा घुँडा टेकेर सजाय भोगेका स्कुलका चौरहरू, सबैसबै आँखाले नअघाउन्जेल हेर्ने अवसर जुटाइदिएको छ लकडाउनले ।

धेरैलाई लकडाउन एउटा बाध्यता भए तापनि मेरा लागि यो समय अवसर भएर आएको छ । विगतलाई ताजा बनाउने अनेकौं समाजका घटनाक्रमसँग निकट रहेर बिताइरहेको छु । रहस्यमयी छ प्रकृतिको देन । यसभित्रै रमाइरहेछु ।

बन्दाबन्दीको यो समय धेरैका लागि अन्धकार र चुनौतीपूर्ण बनिरहेछ भने जीवनको उज्यालो भेट्टाउने आशामा हरेक पल जिन्दगी जिउनुको मूल्य खोजिरहेछु । हामीभित्रै एउटा चित्रकार स्थापित छ । जो मानवहृदयको क्यानभासमा प्रकृतिको मिठास भर्छ । कतिले भेट्टाउछन् त कतिले खोज्ने आँट नै गर्दैनन् ।

पहिलेपहिले घरको बार्दली स्वर्ग समान लाग्थ्यो । गुन्द्रीमा बसेर घण्टौ गौथलीको गुडलाई टोलाएर हेरिरहन्थेँ । आँगनमा परेवाहरू चारा खाएको हेरिरहन्थेँ । किताब अगाडि भए पनि ध्यान त अन्त कतै हुन्थ्यो । कहिलेचाहिँ आमाले भान्छाबाट खाना खान बोलाउनु हुन्छ भनि कुरिरहन्थें । अचेल लकडाउनको बेलामा पनि म एक्लै बार्दलीमा बसी पानी परेको हेरेर टोलाइरहन्छु।

सायद त्यो आदतले अझै विश्राम लिएको छैन । परेवा नहोलान् आँगनमा, गौथली नहोलान् गुडहरूमा । तर, मैले ती सम्झनाहरूमा बाँच्न सिकेको छु । घरमा महाभारत, रामायण र गीताका किताबहरू छन् । पानाहरू जति पल्टाउँदै जान्छु सानो हुँदा मैले ढोगेर राखेका पाँच रुपैयाका नोटहरू भेट्टाउँछु । अचेल जस्तो ज्ञानको हुटहुटी त्यतिबेला थिएन् । भगवान कृष्ण र राम जस्तै बन्ने अभिलाषा मात्र थियो । आज आएर तिनै बलवान र रोलमोडेल भनिएका चरित्रमाथि पनि आफैँले आलोचनात्मक टिप्पणी गर्ने क्षणमा आइसकेको छु । समयको जादु हेर्दा पनि तीनछक पर्छु ।

गाँउघर सुनसान हुँदै गइरहेको छ । तर, क्षणिक भए पनि कोरोनाको त्रासले सहर केन्द्रित भएकाहरू गाउँ फर्किएका छन् । उनीहरूलाई गाँउमा नै टिकाइराख्न कृषिजन्य उद्यम र रोजगारीमा स्थानीय एवं संघीय सरकारले ध्यान दिनुपर्ने जरुरी छ

पहिले-पहिले आमाले काहीँ लडेर कम्मर दुख्दा, झाडावान्ता हुँदा, ज्वरो आउँदा खोलाको भूत लागेको आरोपमा मन्त्र फुक्न झारफुक गर्न, धामी झाँक्रीकोमा लानुहुन्थ्यो । सायद केही दिनपछि निको पनि हुन्थ्यो । ती दिनहरू कल्पना गर्दा र अहिले एउटा चिकित्सक बनिसक्दा आफैँ आश्चर्य चकित हुन्छु ।

मलाई फुक्ने धामी बुबाहरू त हुनुहुन्न अहिले तर ती चलन र मानवविश्वासहरू कसरी त्यति धेरै प्रभावकारी थिए त भन्नेमा म अझैं सोचमग्न रहन्छु । हाम्रो वैदिक सभ्यता र आधुनिक वैज्ञानिक युगको सेतु स्थापना गर्न र मानसिक क्रियाहरूद्वारा चामत्कारिक रुप दिन धामी गुरुहरू सक्षम थिए भन्नेमा म विश्वस्त हुन सक्छु।

उबेलामा आमाले घरमै बुनेका टोपी, गलबन्दी, सुइटरहरू हेर्दै लकडाउनलाई अझ स्मरणीय बनाउन खोजिरहेको छु । घरायसी काममा नै साह्रै व्यस्त हुने मेरी आमाले यस्तो सिप कहाँबाट सिकिन् होला ? चारहात लामो पटुका लाएर खोलाबाट पानी ओसार्ने मेरी आमा साँच्चै नै सन्तानका लागि नौलो आविष्कार गर्न वैज्ञानिक नै रहिछिन् । भैँसीको गोठ घरभन्दा टाढा राख्ने ज्ञान मेरा बुबालाई कस्ले दियो होला ? टौवाको खाँबो आजसम्म पनि दरिलो उभिएको छ ।

घर वरिपरि पातला ढुंगाका आँगन रचिएको छ । घरका झ्यालहरू बुट्टेदार छन् । ओछ्याउने चकटी र गुन्द्रीहरू पनि झनै कलात्मक छन् । मदानी, ठेकी, पिर्काहरू उस्तै आकर्षक छन् । साँच्चै यी सबै सामग्रीका निर्माणकर्ताहरू कति आविष्कारक थिए । अहिलेका महावीर पुनभन्दा कम थिए होलान् र ? म सोचमग्न हुन्छु ।

पहिलेपहिले घरकै दूध, मोही, घिउ, सातु खाएर दुब्ला ख्याउटे बच्चाबच्ची कसैका हुन्थेनन् । लकडाउनको बेला पुरानो फोटाका एल्बम हेर्दा म पनि धेरै मोटो रहेछु । यो सोचेरै आफैँ छक्क पर्छु । अचेल देखिने बच्चाबच्चीहरू चाउचाउ र कुर्कुरे खाएर हुर्किन्छन् अनि कुपोषणको शिकार हुन्छन्।

यो कोरोनाको प्रकोपले कति भोकमरीको सिर्जना हुने हो अझै आकलन छैन । जहाँ जुन खेती हुन्छ जस्तै पाखोमा कोदो, फापर, मकै रोप्ने अनि नहर चलेका खेतमा धान रोप्न सके र कृषकलाई मोल बिउमा अनुदान दिन सके यो पेसा आकर्षणमय हुन्थ्यो । अनि देशको खाद्य संकट पनि टर्थ्यो । त्यससँगै स्वस्थ अनि पोषिलो खानपानको समेत बानी बस्थ्यो।

भोर्लेटार बजार, पहिलेपहिले वरपरका गामबेँसीहरूका लागि तेल कपडा नुन किनमेल गर्ने केन्द्र थियो । अहिले नगरपालिकाको अवधारणामा सहर हुँदै गइरहेको छ ।

अचेल यहाँका मानिसहरुलाई कामबाट फुर्सद मिलेपछि पिँढीमा बसेर गफिने फुर्सद पनि छैन । न त घरका स्त्रीहरूलाई कुचो बढार्ने, बिस्कुन सुकाउने, जाँतो पिँध्ने, भकारो सोहोर्ने, पँधेरीमा गएर पानी ल्याउनै पर्ने बाध्यता छ । अचेल डोकोभरि घाँस काटेर गाईबस्तुलाई खुवाउनु पनि पर्दैन।

त्यसैले मान्छेहरू सहरीया हुँदैछन् र गाउँ परिवेश सुनसान बन्दै गइरहेको छ । न कसैका घरका छानामाथि फर्सी पाकेर पहेलिन्छ, न त रातो माटोले घर पोतिन्छ । न ढुंगाले छाएका घर नै भेटिन्छन् । न कोसैका खेतमा अन्नबाली उब्जिएका छन्, न कसैको बगैंचामा केरा, आँप, सुन्तला र लिचीका बोटहरू पाइन्छन् । न त फलफूल र काँक्रा चोर्न जाने केटाकेटी नै गाँउमा छन् ।

गाँउघर सुनसान हुँदै गइरहेको छ । तर, क्षणिक भए पनि कोरोनाको त्रासले सहर केन्द्रित भएकाहरू गाउँ फर्किएका छन् । उनीहरूलाई गाँउमा नै टिकाइराख्न कृषिजन्य उद्यम र रोजगारीमा स्थानीय एवं संघीय सरकारले ध्यान दिनुपर्ने जरुरी छ।

Football news:

In 2001, Beckham played the best match for the national team. He was inspired by a girl with a unique disease-an inverted heart
Inter will get 15 million euros if PSG sell Icardi to another Italian club
Langle does not want to leave for Inter from Barcelona
Lineker on Messi: I am a fan of Ronaldo, but the title of the best player in the world can not even be discussed
Gianfranco Zola: Hazard and Willian suffered from Sarri's training
Barcelona wants to convince Artur to agree to a trade to Juventus for Pjanic
Marcelo: You lose technique when you don't train with the ball for so long